नुवाकोटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह



नुवाकोट,असार ३० — जल तथा मौसम विज्ञान विभागले आज देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही लगायतका ३९ जिल्लामा बग्ने साना नदीहरूको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना रहेको जनाएको छ।

यस्तै गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली लगायतका क्षेत्रमा बग्ने साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।

चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको जनाइएको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सातै प्रदेशका साना नदीहरूको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, खोल्साखोल्सी आसपास तथा डुबान जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्