२२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ



काठमाडौं,असार ३० — उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्।

प्रहरीका अनुसार उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो।

उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्