स्पेनले फ्रान्सलाई हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो



एजेन्सी,असार ३१ — युरोपियन च्याम्पियन स्पेनले उपाधि दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

लुइस दे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै फ्रान्सको आक्रामक खेललाई प्रभावहीन बनायो। मिकेल ओयार्जाबाल र पेड्रो पोरोको गोलमा स्पेनले प्रभावशाली जित निकाल्दै विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्यो।

स्पेनले २२औँ मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका लेफ्ट ब्याक लुकास डिन्येले लामिन यामाललाई पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई ओयार्जाबालले सहजै गोलमा परिणत गरे।

दोस्रो हाफमा फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेन नै हाबी रह्यो। ५८औँ मिनेटमा दानी ओल्मोसँग उत्कृष्ट तालमेल गर्दै पेड्रो पोरोले नजिकको पोस्टबाट गोल गरेपछि स्पेनको अग्रता २–० पुगेको थियो।त्यसपछि फ्रान्सले गोल फर्काउने प्रयास गरे पनि स्पेनको अनुशासित र बलियो रक्षापङ्क्ति तोड्न सकेन। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ।

यस हारसँगै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल खेल्ने सपना समाप्त भएको छ। फ्रान्सले अब शनिबार तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ। साथै, १४ वर्षदेखि टोली सम्हाल्दै आएका प्रशिक्षक डिडिएर देशाँको कार्यकाल पनि यही प्रतियोगितापछि सकिनेछ।

स्पेनले भने अब न्यु जर्सीमा हुने फाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्