५० प्रतिशत धान रोपाइँ सम्पन्न, वर्षासँगै आगामी साता गति बढ्ने अपेक्षा
काठमाडौं,असार ३१ — देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार चालु वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो।
विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको जानकारी दिनुभयो।
प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव १ प्रतिशत रोपाइँ भएको छ। कोशीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव ७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको गति थप बढ्ने कृषि विभागको अपेक्षा छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझ तीव्र हुने विभागले जनाएको छ।

