देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं,३१ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका पहाडी र तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेश र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्