पक्की पुल निर्माण पछि मुस्ताङमा पाँच वडा वर्षभरि सडक सञ्जालमा जोडिए
मुस्ताङ,असार ३१ — मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको हो। दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम पूरा गरेको जनाएको छ।
कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयमै सम्पन्न भएको हो। यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भइसकेको छ।
जोमसोम–ठिनी खोला–ढुम्बा ताल–छैरो–मार्फा–स्याङ हुँदै पुनः जोमसोम जोड्ने चक्रपथ निर्माणसँगै अब ठिनी खोलामा पक्की पुल सञ्चालनमा आएपछि गाउँपालिकाका पाँचै वडाबीच आवतजावत सहज भएको छ।
रु चार करोड ४६ लाखको लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुलको चौडाइ फुटपाथसहित ८ दशमलव ४ मिटर रहेको छ। पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो। निर्माण सम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिपछि पुल सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिने तयारी गरिएको छ।
पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल पुग्न सहज हुने भएको छ। साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानले कृषि उपज बजारसम्म सहज रूपमा ढुवानी गर्न सक्ने अपेक्षा गरिएको छ।
यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सास्ती हुने गरेको थियो। अब पुल सञ्चालनमा आएपछि वर्षभरि नै सुरक्षित र सहज रूपमा सवारीसाधन सञ्चालन हुने भएको छ।

