बर्डफ्लुबाट प्रभावित किसानलाई ५० करोडभन्दा बढी राहत, अधिकांश जिल्लामा सङ्क्रमण नियन्त्रण
काठमाडौँ,असार ३१— सरकारले बर्डफ्लुका कारण कुखुरा नष्ट भएका किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका १०५ जना किसानले राहत प्राप्त गरेका छन्।
विभागले बर्डफ्लु नियन्त्रणका क्रममा सरकारी निर्देशनअनुसार नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरूप आवश्यक प्रक्रिया पूरा गरी कागजात बुझाउने किसानलाई क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउँदै आएको जनाएको छ।
विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा सङ्क्रमण नियन्त्रणका लागि देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलो दाना नष्ट गरिएको छ।
डा. उपाध्यायका अनुसार पछिल्ला तीन महिनामा बर्डफ्लु फैलिएका ११ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत अधिकांश जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेपलाञ्चोकमा भने बर्डफ्लु नियन्त्रण उन्मुख रहेको विभागले जनाएको छ।

