दोहोरो अङ्कले उकालो लाग्यो नेप्से, चार अर्बभन्दा बढीको सेयर कारोबार



काठमाडौँ,असार ३१ । धितोपत्र बजारमा साताको कारोबारको क्रममा बुधबार सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दै दुई हजार ५९० दशमलव २९ विन्दुमा पुगेको छ।

आज नेप्से परिसूचक १४ अङ्कले बढ्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ५९ अङ्कले वृद्धि भएर ४५३ दशमलव ९४ विन्दुमा पुगेको छ। फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ रुपैयाँ बराबरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

बजारमा सूचीकृत १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। एक उपसमूह घट्दा अर्को एक उपसमूह स्थिर रहेको छ। कारोबार भएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको, ६० कम्पनीको घटेको तथा १९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। विपरीत, उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फन्ड र एनआइसी एसिया सेलेक्ट फन्डका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्