गोलभेडा फालेर किसानको विरोध, कृषि नीतिमा सुधारको माग



काठमाडौं,असार ३१ । उचित मूल्य र बजार नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघरमा सडकमै गोलभेडा फालेर सरकारको कृषि नीतिविरुद्ध प्रदर्शन गरेका छन्।

किसानहरूले उत्पादनको लागतसमेत नउठ्ने अवस्था भएकाले न्यूनतम समर्थन मूल्य, बजारको सुनिश्चितता, अनुदान, कृषि बिमा तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्।

कालिमाटी तरकारी बजारमा गोलभेडाको मूल्य निरन्तर घट्दै गएको छ। बुधबार ठूलो गोलभेडाको औसत थोक मूल्य प्रतिकिलो ३८ रुपैयाँ ७५ पैसा, सानो लोकल ९ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा १४ रुपैयाँ ६० पैसा पुगेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको ४१ हजार ७८७ मेट्रिक टन गोलभेडा आयात भएको छ। उता कृषि मन्त्रालयका तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशमै पाँच लाख ६२ हजार मेट्रिक टनभन्दा बढी गोलभेडा उत्पादन भएको थियो।

प्रदर्शनपछि कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले किसानसँग छलफल गर्दै उनीहरूको माग सम्बोधन गरी समस्या समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्