वन्यजन्तुबाट पीडित किसानलाई राहत, आर्थिक वर्षको अन्त्यमा पाएपछि खुसी
नुवाकोट,असार ३१ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत शिवपुरी–चिसापानी मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तुबाट क्षति व्यहोरेका किसानलाई राहत रकम वितरण गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को अन्तिम समयमा वितरण गरिएको राहत पाएपछि लामो समयदेखि प्रतीक्षामा रहेका किसानले खुसी व्यक्त गरेका छन्।
समितिमार्फत शिवपुरी मध्यवर्ती क्षेत्रका वडा नं. १, २ र ३ का किसानलाई राहत उपलब्ध गराइएको हो। बाँदर, बँदेल तथा अन्य वन्यजन्तुले बालीमा पुर्याएको क्षतिअनुसार किसानलाई तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म तथा वन्यजन्तुको आक्रमणबाट पशुचौपाया मरेका पीडितलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म राहत प्रदान गरिएको समितिले जनाएको छ।
राहत वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष सुकुराम तामाङ, वडा नं. २ का अध्यक्ष कुमार तामाङ, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, नेपाली सेना, नागरिक समाज, विद्यालयका प्रतिनिधि तथा समितिका पदाधिकारीको उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष गोपाल तामाङका अनुसार आर्थिक वर्षको अन्तिम समयमा बजेट व्यवस्थापन चुनौतीपूर्ण रहे पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णु श्रेष्ठ र व्यवस्थापन समितिका अध्यक्षको पहलमा रकमान्तर गरी प्रभावित किसानलाई राहत उपलब्ध गराइएको हो।
उनले आर्थिक वर्ष २०८०/०८१ को बाँकी राहत रकम उपलब्ध गराउन सम्बन्धित विभाग, वन मन्त्रालय र अर्थ मन्त्रालयमा निरन्तर पहल भइरहेको जानकारी दिए। साथै राहत पाउन छुटेका किसानलाई भोलिसम्म सम्बन्धित समितिमा सम्पर्क गर्न आग्रह गरिएको छ।

