अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको चमत्कार, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा



एजेन्सी,असार ३२ । साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरी फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

एटलान्टा स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनलमा इङ्ग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। मोर्गन रोजर्सको उत्कृष्ट पासलाई गोर्डनले सहज रूपमा गोलमा परिणत गरेका थिए।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेका थिए। इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले निको गोन्जालेजको प्रहार उत्कृष्ट रूपमा बचाएका थिए भने एलेक्सिस म्याक एलिस्टरको हेड प्रहार पोस्टमा लागेको थियो।

खेल इङ्ग्ल्यान्डकै पक्षमा जाने संकेत देखिएको अवस्थामा अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा शानदार पुनरागमन गर्‍यो।८५औँ मिनेटमा लियोनेल मेस्सीको पासमा इन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै पासलाई लाउटारो मार्टिनेजले निर्णायक गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यससँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अब उसले आइतबार उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

पराजित इङ्ग्ल्यान्डको भने सन् १९६६ यता पहिलो पटक पुरुष विश्वकपको फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो। प्रशिक्षक थोमस टुचेलको टोलीले अब तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्