बजेट पारित गराउन नेकपासँग मुख्यमन्त्री शाहको आग्रह, सहयोग प्रस्ताव अस्वीकार



धनगढी, असार ३२ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउने प्रयासस्वरूप मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव अस्वीकार भएको छ।

सरकारलाई समर्थन गरिरहेको एमालेले साथ फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेपछि बजेट पारित गर्न कठिन बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलको प्रस्ताव गर्नुभएको थियो।

मुख्यमन्त्रीको आग्रहपछि नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पठाउनुभएको थियो। छलफलका क्रममा मुख्यमन्त्री शाहले बजेट पारित गर्न सहयोग गर्न अनुरोध गर्नुभएको थियो।

तर, नेकपा संसदीय दलका नेता खगराज भट्टले वर्तमान राजनीतिक अवस्थामा प्रदेश सरकारको बजेट पारित गराउन सहयोग गर्न नसकिने स्पष्ट पार्नुभएको छ। एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेकाले बजेट पारित हुने विषय थप अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्