कर्मचारीको कार्यसम्पादन अब नतिजामा आधारित हुने
काठमाडौं, असार ३२ । अबदेखि सरकारी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नतिजामा आधारित हुने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन
मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई परिपत्र जारी गर्दै नयाँ मूल्याङ्कन प्रणाली लागू गर्न निर्देशन दिएको हो। परिपत्रअनुसार प्रत्येक सार्वजनिक निकायले पदअनुसार मापनयोग्य कार्यसम्पादन सूचक तय गर्नुपर्ने, त्यसलाई वार्षिक कार्ययोजना र कार्यालयको नतिजासँग आबद्ध गर्नुपर्ने तथा कर्मचारी र सुपरिवेक्षकबीच कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार कार्यालयमा समय बिताउने मात्र नभई सेवाग्राही र सरकारी लक्ष्यअनुसार काम गर्ने संस्कृतिको विकास गर्न यो व्यवस्था लागू गरिएको हो। साथै, प्रत्येक तीन–तीन महिनामा कार्यसम्पादनको समीक्षा गरी लक्ष्य, प्रगति, समस्या र समाधानका विषयमा मूल्याङ्कन गरिनेछ।

