मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘ध्रुवे’ हात्तीलाई रेडियो कलर जडान



चितवन, असार ३२ । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्टमार्फत बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरिएको हो। त्यसपछि दाह्रा काटेर हात्तीलाई पुनः जंगलमा छाडिएको उहाँले जानकारी दिनुभयो।

रेडियो कलर जडानसँगै जिपिएस प्रविधिबाट हात्तीको गतिविधि र अवस्थाबारे नियमित निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ।निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोलीले उक्त कार्य सम्पन्न गरेको हो।

‘ध्रुवे’ हात्तीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। गत असार २० गते भरतपुर–२३ मा हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी तथा निगरानीलाई थप तीव्र बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्