डोलेश्वर महादेवमा ३८ दिने श्रावणी मेला सुरु हुँदै, ५० लाख भक्तजन आउने अपेक्षा
भक्तपुर, असार ३२ । केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म सञ्चालन हुने श्रावणी मेला सुरु हुँदैछ। मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। साउन महिनाका शनिबार, आइतबार र सोमबार मन्दिरमा भक्तजनको विशेष भीड रहने अपेक्षा गरिएको छ।
मेलाको अवधिमा ६० हजारभन्दा बढी भारतीय भक्तजन आउने र भेटी सङ्कलन एक करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ भने स्वास्थ्य सेवा, सुरक्षा र भीड व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको समितिले जनाएको छ।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार दर्शनार्थीका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरामार्फत निगरानी गरिनेछ।
समितिका अनुसार साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा निकालेर डोलेश्वर महादेव मन्दिरमा ल्याई श्रावणी मेलाको औपचारिक उद्घाटन गरिनेछ।

