मुस्ताङमा चार लाखभन्दा बढीका अवैध सामान बरामद
मुस्ताङ, असार ३२ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब चार लाख ३५ हजार ८०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित चेकजाँचका क्रममा नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिपबाट उक्त सामान बरामद गरेको हो।
भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टिसर्टलगायतका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ। अनुसन्धानका कारण सामान ल्याउने व्यक्तिको परिचय सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

