विश्वविद्यालय र सूचना प्रविधि उद्योग जोड्न सरकारको पहल, करियर मेला सञ्चालन गरिने
काठमाडौं, असार ३२ । सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग जोड्दै युवालाई डिजिटल क्षेत्रमा आकर्षित गर्न नयाँ पहल थालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा सरोकारवाला संस्थासँगको सहकार्यमा प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग राष्ट्रिय गोलमेच छलफल आयोजना गरेको हो।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग, डिजिटाइजेसन र डिजिटल सीप विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सूचना प्रविधि क्षेत्रमार्फत युवाका लागि रोजगारी सिर्जना र आर्थिक समृद्धि सम्भव रहेको उल्लेख गर्दै सरकार यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो।
मन्त्रालयले चालु शैक्षिक सत्रदेखि सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजमा वार्षिक रोजगार तथा करियर मेला सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, सूचना प्रविधि क्षेत्रका संस्थासँग सहकार्य गरी अध्ययन पूरा हुनुअघि नै योग्य विद्यार्थीलाई सशर्त रोजगारी प्रस्ताव उपलब्ध गराउने व्यवस्था विकास गरिने जनाएको छ।
यसैगरी, उद्योगको आवश्यकताअनुसार पाठ्यक्रमलाई व्यावहारिक बनाउने, क्रेडिटमा आधारित इन्टर्नसिप लागू गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा इन्टर्नलाई पारिश्रमिक उपलब्ध गराउने तथा प्रमाणित इन्टर्नसिप र रोजगारीका अवसर उपलब्ध गराउने केन्द्रीय डिजिटल पोर्टल सञ्चालन गर्ने तयारी पनि सरकारले अघि बढाएको छ।
मन्त्रालयका अनुसार यसबाट दक्ष जनशक्ति उत्पादन, ब्रेन ड्रेन न्यूनीकरण र नेपालको डिजिटल अर्थतन्त्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

