पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा सात वर्षीय बालकको मृत्यु, अर्का बालक घाइते



प्युठान,असार ३२ । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।

प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी पछाडि सर्दै करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए भने सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो। उपचारकै क्रममा साँझ करिब ६:३० बजे चिकित्सकले कुण्डन घर्तीलाई मृत घोषणा गरेका हुन्। घाइते पारस बुढालाई थप उपचारका लागि राति करिब ७ बजे बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार तथा ट्याक्टर साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्