अब स्मार्ट लाइसेन्सको प्रतीक्षा सकियो, २४ घण्टामै छपाइ हुने
काठमाडौं,साउन १ । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ‘ब्याकलग’ अन्त्य भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४
घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच दुई चरणमा भएको सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। यससँगै विगतदेखि रहेको लाइसेन्स छपाइको सबै ‘ब्याकलग’ समाप्त भएको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख लाइसेन्स छपाइ सुरु गरिएको थियो। दोस्रो चरणको काम पनि २०८३ असार ३२ गते सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्स छापिएको हो।
हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको विभागबाट दैनिक प्राप्त हुने करिब तीन हजारदेखि पाँच हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ। साथै, सुरक्षण मुद्रण केन्द्रले नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपत्रलगायतका सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी अघि बढाएको छ।
यी सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि विदेशिने ठूलो रकम बचत हुने, स्वदेशभित्रै पुँजी परिचालन र रोजगारी सिर्जना हुने तथा सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

