धानबाली क्षतिपूर्ति वापतको रकम पञ्चकन्याका अधिकांश किसानको खातामा, ४०० जनाले पाए राहत



नुवाकोट, साउन १ — गत वर्ष कार्तिक महिनामा भएको धानबाली क्षतिबापतको राहत रकम नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अधिकांश किसानको बैंक खातामा जम्मा गरिएको छ। बागमती प्रदेश सरकारको क्षतिपूर्ति कार्यक्रमअन्तर्गत ४०० जना किसानले राहत प्राप्त गरेका हुन्।

गाउँपालिकाको कृषि शाखाका प्रमुख एजिना अधिकारीका अनुसार धानबाली क्षतिको विवरणमा ४०६ जना किसान समावेश भए पनि स्वीकृत भएका ४०० जनाको खातामा प्रतिरोपनी एक हजार पाँच सय रुपैयाँका दरले राहत रकम पठाइएको हो।

उनका अनुसार सुरुवातमा ६७ जना किसानको बैंक खाता सक्रिय नभएकाले रकम स्थानान्तरणमा ढिलाइ भएको थियो। पछि खाता सक्रिय गरिएपछि उनीहरूलाई पनि राहत उपलब्ध गराइएको हो। तर छ जना किसानले हालसम्म आफ्नो बैंक खाता सक्रिय नगरेकाले उनीहरूको रकम फिर्ता गएको अधिकारीले जानकारी दिइन्।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्राकृतिक विपद्का कारण धानबालीमा क्षति बेहोरेका किसानलाई प्रदेश सरकारले उपलब्ध गराएको राहतले केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गरे।

यसैबीच, धानबाली क्षतिको क्षतिपूर्ति कार्यक्रमअन्तर्गत नुवाकोटकै विदुर नगरपालिकाका दुई जना कृषकले पनि राहत रकम प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्