मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता हुने तयारी



काठमाडौं, साउन १ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसअघि बाराको सिमरामा भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता प्रदान गर्न लागिएको हो।

सम्झौताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। हिजो पनि दुवै पक्षबीच सिंहदरबारमा सघन छलफल भएको थियो। सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौताको तयारी गरिएको जनाइएको छ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गर्नुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहनुभएको छ।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गर्नुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य रहनुभएको छ।

दुवै पक्षबीच सहमति जुटेपछि आजै औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्