नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, परिसूचक करिब ८० अङ्कले उकालो
काठमाडौं,साउन १ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन धितोपत्र बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ बिन्दुमा पुगेसँगै बजारमा लगानीकर्ताको उत्साह देखिएको हो।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले बढेर ४६८ दशमलव ३८ पुगेको छ। फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले वृद्धि भई १८४ दशमलव ०३ र सेन्सेटिभ फ्लोट सूचक चार दशमलव १३ अङ्कले बढेर १५८ दशमलव ५६ बिन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर चार अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढ्दा केवल एक उपसमूह घटेको छ। कुल २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन। यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स र आरबिबी मर्चेन्ट बैंकिङका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।

