आजदेखि तीन महिने डेङ्गु सचेतना अभियान, प्रत्येक शुक्रबार सरसफाइ कार्यक्रम सञ्चालन गरिने



काठमाडौं, साउन १ — डेङ्गु सङ्क्रमणको जोखिम बढ्न थालेसँगै आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु भएको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत लामखुट्टेको प्रजनन स्थल खोजी र नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय र सामुदायिक संस्थामा प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। साथै वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकारवाला निकायसँग समन्वय गरी समुदायको सहभागितामा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान चलाइनेछ।

स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेका अटो वर्कशप, ग्यारेज, कवाडी व्यवस्थापन स्थल, निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुगमन गरी जमेको पानी हटाउने र उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।
विद्यालय तहमा पनि डेङ्गुविरुद्ध जनचेतना बढाउन ‘साथी शिक्षा कार्यक्रम’ र ‘विद्यालय सरसफाइ अभियान’ सञ्चालन गरिनेछ। विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाइको अवस्थासमेत अनुगमन गरिने मन्त्रालयले जनाएको छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार साउनदेखि डेङ्गु सङ्क्रमण बढ्न सुरु हुने, भदौमा उच्च बिन्दुमा पुग्ने र असोज–कात्तिकसम्म जोखिम रहने भएकाले यही अवधिलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको हो।

उहाँका अनुसार होटल, ग्यारेज, कवाडी व्यवस्थापन स्थल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक स्थललाई विशेष प्राथमिकतामा राखेर सरसफाइ र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। नागरिक स्वयंले घर वरपर पानी जम्न नदिने र लामखुट्टेको बासस्थान नष्ट गर्ने हो भने डेङ्गु नियन्त्रणमा ठूलो योगदान पुग्ने उहाँले बताउनुभयो।

महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा ५६ हजार, सन् २०२३ मा ५२ हजार, सन् २०२४ मा ४६ हजार र सन् २०२५ मा आठ हजार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा जनचेतना र नियन्त्रणका प्रयास प्रभावकारी बन्दै जाँदा सङ्क्रमणको दर क्रमशः घट्दै गएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ देखि ‘साउन, भदौ र असोज महिना : डेङ्गु सचेतना तीन महिने अभियान’ देशभर सञ्चालन गर्दै आएको छ। मन्त्रालयका अनुसार यस अभियानले डेङ्गु रोकथाम तथा नियन्त्रणमा समुदायको सक्रिय सहभागिता बढाउनुका साथै सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको छ।

यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सामुदायिक सङ्घसंस्थासँग सहकार्य गर्दै अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न परिपत्रमार्फत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्