मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त सम्पन्न, ४३ विद्यार्थी दीक्षित



जनकपुरधाम, साउन १ — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्यकर्मीको ज्ञान, सीप, इमानदारिता, करुणा र व्यावसायिकताले हजारौँ मानिसको जीवन बचाउन सक्ने बताउनुभएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र जनताको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रतिष्ठानबाट दीक्षित स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री यादवले संघ सरकारले छात्रवृत्तिबापत दिनुपर्ने रकम उपलब्ध नगराए पनि प्रदेश सरकारले आफ्नै बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। प्रतिष्ठानको भौतिक पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस संस्थालाई शिक्षण, अनुसन्धान, नवप्रवर्तन र विशेषज्ञ स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

समारोहमा शिक्षाविद् तथा राजर्षि जनक विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. अमरप्रसाद यादवले कृत्रिम बुद्धिमत्ता, डिजिटल स्वास्थ्य प्रणाली, अनुसन्धान तथा प्रमाणमा आधारित उपचार पद्धतिले चिकित्सा शिक्षालाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीहरूलाई इमानदारिता, करुणा, नैतिकता र सेवाभावलाई जीवनको मूलमन्त्र बनाएर निरन्तर आफ्नो दक्षता अभिवृद्धि गर्न आग्रह गर्नुभयो।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अंकुर शाहले दीक्षित विद्यार्थीहरूले प्रतिष्ठानबाट हासिल गरेको ज्ञान, सीप, नैतिकता र मानवीय संवेदनालाई समाज र राष्ट्रको सेवामा समर्पित गर्ने विश्वास व्यक्त गर्नुभयो।

२०७७ सालमा स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यस वर्ष स्नातकतर्फ ब्याचलर अफ नर्सिङ साइन्स, ब्याचलर अफ साइन्स इन नर्सिङ, ब्याचलर अफ पब्लिक हेल्थ तथा स्नातकोत्तर तहमा एमडी (स्त्री तथा प्रसूति रोग) अध्ययन पूरा गरेका ४३ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी जितेन्द्रकुमार साह, विवेक खड्का, जेनिसा लामा, जोशिका शर्मा र मोहम्मद बद्रे आलमलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको थियो। त्यसैगरी आयुषी तथा आनन्दकृष्ण राजभण्डारी स्वर्ण पदक विद्यार्थी स्मृति ढकाललाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्