सामान्य वर्षामै डुब्छ राजधानी, दीर्घकालीन समाधान अझै टाढै
काठमाडौं, साउन १ — सामान्य वर्षा हुँदा पनि काठमाडौंका अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन, सिंहदरबार तथा माइतीघर आसपासका क्षेत्र डुबानमा पर्ने समस्या यस वर्ष पनि दोहोरिएको छ। बिहीबार मध्याह्न भएको वर्षापछि सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित बनेको थियो भने यात्रुले लामो समय ट्राफिक जामको सास्ती खेप्नुपरेको थियो।
हरेक वर्ष वर्षायाममा एउटै समस्या दोहोरिए पनि यसको दीर्घकालीन समाधान भने अझै हुन सकेको छैन। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार माइतीघर क्षेत्र भौगोलिक रूपमा ओरालोमा पर्ने भएकाले माथिल्ला क्षेत्रबाट बगेर आएको पानी त्यहीँ जम्मा हुने गर्छ। उहाँले माइतीघरको ढल टुकुचा खोलामा मिसिने भए पनि वर्षाका बेला टुकुचामा पानीको सतह बढेपछि ढलको पानी सहज रूपमा निकास हुन नसक्दा सडकमै पानी जम्ने गरेको बताउनुभयो।
उहाँका अनुसार समस्या मुख्यतः पुरानो र कमजोर ढल निकास प्रणालीका कारण उत्पन्न भएको हो। अधिकांश ढलका पाइप साँघुरा र पुराना भएकाले भारी वर्षाको पानीको बहाव धान्न नसक्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो।
माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्ने विषयमा पटक–पटक छलफल भए पनि विस्तृत योजना कार्यान्वयनमा आउन सकेको छैन।
विशेषज्ञहरूका अनुसार तीव्र सहरीकरण, वर्षाको पानीका लागि छुट्टै निकास प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी–खोलाको प्राकृतिक बहाव साँघुरिँदै जानु राजधानीमा डुबानको समस्या वर्षेनि दोहोरिनुका मुख्य कारण हुन्।
यसैबीच, वर्षायाम सुरु भएसँगै काठमाडौंका विभिन्न स्थानमा सामान्य वर्षामै सडक जलमग्न हुने क्रम जारी रहेकाले प्रभावकारी ढल व्यवस्थापन र दीर्घकालीन पूर्वाधार निर्माणको आवश्यकता फेरि एकपटक उजागर भएको छ।

