विश्व फुटबलको महायुद्ध : मेस्सीको अर्जेन्टिना र स्पेनबीच विश्वकप उपाधिका लागि निर्णायक भिडन्त
एजेन्सी,साउन २ । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुने भएका छन्। लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले आइतबार राति १२:४५ बजे हुने फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। फुटबलका दुई फरक शैली बोकेका टोलीबीचको यो भिडन्त विश्वकपकै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ।
स्पेनले सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई प्रभावशाली प्रदर्शनसहित हराउँदै फाइनल यात्रा तय गरेको हो। प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले प्रतियोगिताभर बलमाथिको नियन्त्रण, व्यवस्थित आक्रमण र सुदृढ रक्षापङ्क्तिका कारण सबैको प्रशंसा बटुलेको छ।
समूह चरणमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। त्यसपछि अस्ट्रियालाई ३–० ले हराएको स्पेनले पोर्चुगल र बेल्जियमविरुद्ध मिकेल मेरिनोको अन्तिम समयको निर्णायक गोलमा लगातार जित निकाल्दै फाइनलसम्मको यात्रा तय गर्यो। प्रतियोगिताभर स्पेनले केवल एक गोल मात्र व्यहोरेको छ। सन् २०१० पछि स्पेन पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।
यता अर्जेन्टिनाले लगातार दोस्रो तथा समग्रमा सातौं पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ। कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन्। उनले समूह चरणमा अल्जेरियाविरुद्ध ह्याट्रिकसहित प्रतियोगितामा हालसम्म ८ गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ।
समूह चरणका तीनै खेल जितेको अर्जेन्टिनाले नकआउट चरणमा भने संघर्षपूर्ण यात्रा तय गर्यो। अतिरिक्त समयमा केप भेर्डेलाई ३–२ ले हराएको अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ को ऐतिहासिक जित निकाल्यो। त्यसपछि स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको टोलीले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै २–१ को जितसहित फाइनल यात्रा सुनिश्चित गर्यो।
विश्वकप इतिहासमा स्पेन र अर्जेन्टिना यसअघि केवल एकपटक मात्र आमनेसामने भएका छन्। सन् १९६६ को समूह चरणको उक्त खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो। दुवै टोलीबीच भएका १३ मैत्रीपूर्ण खेलमध्ये स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो।
सम्भावित सुरुआती टोली
स्पेन: सिमोन, पोरो, लापोर्ते, कुबार्सी, कुकुरेला, रोड्री, फाबियन, लामिन यामाल, ओल्मो, बाएना र ओयारजाबाल। अर्जेन्टिना: मार्टिनेज, नाहुएल, रोमेरो, लिसान्द्रो मार्टिनेज, टालियाफिको, परेडेस, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमेओने, लियोनेल मेस्सी र जुलियन आल्भारेज।

