साउन ११ मा नागढुङ्गा सुरुङमार्ग उद्घाटन, सुरुमा सबै सवारी चल्न नपाउने
काठमाडौं, साउन २ — बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुने तयारी भएको छ। निर्माण सम्पन्न भएसँगै आयोजनाले उद्घाटन र सञ्चालनको अन्तिम तयारी गरिरहेको जनाएको छ।
आयोजनाका अनुसार उद्घाटनपछि करिब तीन महिना परीक्षणकाल रहनेछ। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ भने सबै सवारीसाधन क्रमशः सञ्चालनमा ल्याइनेछ।
यता, पश्चिम पोर्टलमा स्थानीय उत्पादन बिक्री केन्द्र, पार्किङ र विश्रामस्थलसहितको ‘सर्भिस सेन्टर’ निर्माण योजना भने जग्गा विवादका कारण रद्द गरिएको छ। करिब ४० रोपनी जग्गामा दोहोरो स्वामित्वको विवाद समाधान हुन नसकेपछि योजना अघि बढ्न नसकेको आयोजनाले जनाएको छ। यसले यात्रु सुविधा, ट्राफिक व्यवस्थापन र स्थानीय आर्थिक गतिविधिमा असर पर्ने बताइएको छ।

