दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गरिने
काठमाडौं, साउन २ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ।
मन्त्रालयका अनुसार आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिनेछ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्र बनाइने भएको छ।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाइने मन्त्रालयले जनाएको छ।
समझदारी कार्यान्वयनपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित तथा संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै स्वदेशमै उत्पादित औषधिको प्रयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने जनाएको छ। यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता वृद्धि, आयातमा निर्भरता घटाउने तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई बल पुग्ने विश्वास गरिएको छ।

