आगजनीको असर : उच्च अदालत नेपालगञ्जमा मुद्दा फर्छ्यौट दर घट्यो



नेपालगञ्ज, साउन २ — उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा कुल दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गर्दै ६२ दशमलव ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

शुक्रबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा टुङ्ग्याउन सफल भएको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्रै बाँकी रहेको र ती पनि साउनभित्रै फर्छ्यौट गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

फर्छ्यौट भएका मुद्दामा अंशवण्डा, मानाचामल, सम्बन्धविच्छेदलगायत देवानी प्रकृतिका तथा लागूऔषध, चोरी, डकैती, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते, जालसाजी र बैङ्किङ कसुरजस्ता फौजदारी मुद्दा रहेका छन्।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेकामा एक हजार ३५४ मुद्दा फर्छ्यौट भएका छन् भने ८०९ मुद्दा अझै विचाराधीन छन्।

वार्षिक कार्ययोजनाअनुसार दुई हजार ४९० मुद्दा लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएको थियो। सो लक्ष्यको ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको अदालतले जनाएको छ।

यद्यपि, पछिल्ला तीन आर्थिक वर्षको तुलनामा फर्छ्यौट दर घटेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१/८२ मा ७५ दशमलव ७४ प्रतिशत मुद्दा फर्छ्यौट भएकोमा गत आर्थिक वर्षमा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको हो। न्यायाधीश ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेको जनआन्दोलनका क्रममा अदालतमा भएको आगजनीका कारण चार महिनासम्म सुनुवाइ प्रभावित हुँदा फर्छ्यौट दरमा गिरावट आएको हो।

अदालतले आगजनीबाट जलेका ७५३ वटा मिसिलको प्राप्ति र प्रमाणीकरण कार्य शतप्रतिशत सम्पन्न गरेको पनि जनाएको छ।त्यसैगरी, बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फर्छ्यौट भई चार हजार ३१४ मुद्दा विचाराधीन छन्। बाँके जिल्ला अदालतको मुद्दा फर्छ्यौट दर करिब ३८ दशमलव ८ प्रतिशत रहेको छ। बर्दिया जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा एक हजार ३१२ मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्