सामूहिक अभियानले फेरिएको नुवाकोटको सामुदायिक विद्यालय, आफ्नै बससँगै जनज्ञान निकेतनको नयाँ यात्रा



नुवाकोट, साउन २ – कुनै बेला स्रोत–साधनको अभावका कारण भाडाको बसमा निर्भर रहँदै आएको नुवाकोटको एक सामुदायिक विद्यालय अहिले आफ्नै बस सञ्चालन गर्ने अवस्थामा पुगेको छ। यो परिवर्तन कुनै एक व्यक्ति वा संस्थाको प्रयासले सम्भव भएको होइन, बरु स्थानीय समुदाय, पूर्वविद्यार्थी, अभिभावक, स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक र विभिन्न संघसंस्थाको सामूहिक अभियानको परिणाम हो।

शिवपुरी गाउँपालिका–८ थानापतिस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालय ले सञ्चालन गरेको चन्दा संकलन अभियानमार्फत ४९ लाख तीन हजार रुपैयाँमा विद्यालय बस खरिद गरेको हो। बसको ८६ हजार ७ सय ८७ रुपैयाँ बराबरको बीमा गरिएको छ भने बाँकी रकम विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गरिने भएको छ।

अभियानका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि सिटौलाका अनुसार बस खरिदसँगै विद्यालयका लागि करिब ९९ लाख रुपैयाँ संकलन भएको छ।यसमध्ये एक गैरसरकारी संस्थाबाट ४२ लाख रुपैयाँ, शिवपुरी गाउँपालिकाबाट १२ लाख रुपैयाँ, अमेरिकामा रहेका नेपाली समुदायबाट १९ लाख रुपैयाँ, नेपालभित्रका सहयोगीबाट २० लाख रुपैयाँ तथा रोटरी क्लबबाट ५ लाख ४ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो।

विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेका अनुसार बस खरिदपछि बाँकी रकमबाट छात्रा शौचालय, विद्यालय क्यान्टिन र कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिनेछ। ती संरचना निर्माण सम्पन्न भएपछि बाँकी रकमलाई स्थायी कोषका रूपमा राखी त्यसको ब्याजबाट बस सञ्चालनमा सहयोग पुर्‍याउने दीर्घकालीन योजना पनि विद्यालयले बनाएको छ।

गत वर्षदेखि हरि सिटौला र प्रधानाध्यापक लामिछानेको नेतृत्वमा सुरु भएको अभियानमा पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, विभिन्न संघसंस्था तथा विदेशमा रहेका नेपालीहरूको उल्लेखनीय साथ रहेको थियो।

प्रधानाध्यापक लामिछानेका अनुसार विद्यालय बस खरिद हुनु एउटा सवारीसाधन थपिनु मात्र नभई सामुदायिक विद्यालयप्रतिको विश्वास, अपनत्व र सामूहिक एकताको प्रतीक बनेको छ। पछिल्ला वर्षहरूमा विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित भइरहेका बेला विद्यालयसम्म सुरक्षित र सहज पहुँच उपलब्ध गराउन बस प्रभावकारी माध्यम बन्ने विश्वास गरिएको छ।

हाल विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन। शिवपुरी गाउँपालिकाभित्र उत्कृष्ट शैक्षिक नतिजा दिने विद्यालयमध्ये अग्रस्थानमा रहेको जनज्ञान निकेतनले बस सञ्चालनपछि वरपरका बस्तीका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन सहज हुने र आगामी दिनमा विद्यार्थी संख्या अझै बढ्ने अपेक्षा गरेको छ।

यसअघि भाडाको बस प्रयोग गर्दै आएको विद्यालय अब आफ्नै बसबाट सेवा सञ्चालन गर्ने भएको छ। गाउँ तथा टाढाका बस्तीबाट आउने विद्यार्थीको यात्रा सुरक्षित, सहज र नियमित हुने विश्वास गरिएको छ। यसले अभिभावकको भरोसा बढाउनुका साथै गुणस्तरीय शिक्षाको खोजीमा निजी विद्यालयतर्फ जाने प्रवृत्तिलाई पनि केही हदसम्म रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जनज्ञान निकेतनको यो अभियानले देखाएको छ कि समुदाय एकजुट हुँदा सामुदायिक विद्यालय पनि स्रोत–साधनको अभाव पार गर्दै गुणस्तरीय शिक्षा र दिगो विकासको उदाहरण बन्न सक्छ।विद्यालयमा थपिएको बस केवल यातायातको साधन होइन, सामूहिक इच्छाशक्ति, विश्वास र उज्ज्वल भविष्यतर्फ अघि बढेको नयाँ यात्राको प्रतीक बनेको छ।

प्रतिक्रिया दिनुहोस्