डडेल्धुरामा बोलेरो दुर्घटना : दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते



डडेल्धुरा, साउन २ — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दार्चुलाका दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्