खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, सेवा थप प्रभावकारी हुने



बाँके, साउन २ — बाँकेको खजुरा बजारस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको लिक्विड अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार २० किलोलिटर क्षमताको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालन सुरु गरिएको हो। आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि दैनिक सिलिण्डरमा अक्सिजन भरेर ढुवानी गर्नुपर्ने झन्झट हटेको र आवश्यक अक्सिजन भण्डारण गर्न समेत सहज भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार अस्पतालले केमोथेरापी वार्डमा छुट्टै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ भने रेडियोलोजी र प्रयोगशालाको निदान सेवा पनि एउटै भवनबाट उपलब्ध गराउन थालिएको छ। साथै लायन्स क्लबको समन्वयमा छिट्टै बिरामीका कुरुवाका लागि विश्रामगृह सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य मन्त्रालयको समन्वय तथा युएसएडको आर्थिक सहयोगमा उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो। जनस्तरको धार्मिक अभियानबाट निर्माण भएको अस्पताल २०७२ सालमा सङ्घीय सरकारलाई हस्तान्तरण गरिएको थियो। यद्यपि हालसम्म स्थायी दरबन्दी स्वीकृत नहुँदा अस्पताल अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदै आएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई सेवा दिँदै आएको यो अस्पताल नेपालगञ्ज बजारदेखि करिब १० किलोमिटर पश्चिममा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्