२४ जिल्लाका नदी–खोलामा बहाव बढ्ने चेतावनी, आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ, साउन २ — जल तथा मौसम विज्ञान विभागले आज देशका २४ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।
महाशाखाका बाढीविद् बिनोद पराजुलीले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री तथा निर्माण कार्यमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार निरन्तर वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा नदीको बहाव बढ्ने भएकाले तटीय क्षेत्र, डुबान तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी आवश्यक छ।
विभागले मनसुनी गतिविधि सक्रिय रहेकाले हिमाली र पहाडी भू–भागका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।
मौसमविद् डेविट ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

