साउनभित्र सञ्चालनमा आउने तयारीमा नागढुङ्गा सुरुङमार्ग, जनचेतनाका लागि ‘टनेल रन एण्ड वाक’



काठमाडौं, साउन २ — सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा नागढुङ्गा सुरुङमार्गमा आज ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम सम्पन्न गरिएको छ।सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दौड तथा पदयात्रा गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सुरुङमार्गको महत्व, उपयोगिता र सञ्चालनबारे नागरिकलाई जानकारी गराउनु हो। नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ दुई हजार ६८८ मिटर लामो रहेको छ।

सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य निर्धारित समयमा पूरा हुन सकेन।

निर्देशक नेपालले सुरुङमार्गलाई साउनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड हुँदै दैनिक दुई पाङ्ग्रे बाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने यात्रु र सवारीसाधनको यात्रा समय घट्नुका साथै यातायात व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, आयोजनाका अनुसार दुई पाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

प्रतिक्रिया दिनुहोस्