ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु, एक घाइते



पर्वत, साउन २ — पर्वतको कुश्मा नगरपालिका–९ स्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउँसो करिब साढे २ बजे कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर एकोहोरोपाखा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र ट्याक्टरमा सवार कुश्मा नगरपालिका–९ साइकल चोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो। चिकित्सकले उनीहरूलाई अस्पताल पुगेलगत्तै मृत घोषणा गरेका हुन्।

दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन्। दुवै खुट्टामा चोट लागेका उनको अवस्था सामान्य रहेको र प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्