नुवाकोटमा दुई रात सवारी सञ्चालन बन्द, अत्यावश्यकबाहेकका सवारी चलाउन रोक
नुवाकोट, साउन २ — अविरल वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले दुई रात अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन २ र ३ गते नुवाकोटसहित विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको तथा अचानक बाढी, पहिरो, गेग्रान बहाव र सडक अवरोध हुन सक्ने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रातिको समयमा सवारी सञ्चालन उच्च जोखिमपूर्ण हुने जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीद्वारा जारी सूचनाअनुसार साउन २ र ३ गते राति १० बजेदेखि बिहान ५ बजेसम्म नुवाकोट हुँदै जिल्ला बाहिर जाने तथा अन्य जिल्लाबाट नुवाकोट भित्रिने एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलगायत अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
प्रशासनले मौसम र सडकको अवस्थाअनुसार जुनसुकै बेला सवारी आवागमन रोक्न वा पुनः सञ्चालन गर्न सकिने जनाएको छ। साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेषगरी रात्रिकालीन यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सरोकारवालालाई आग्रह गरेको छ।
विपद्सम्बन्धी जानकारी तथा उद्धारका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

