आज र भोलिको भारी वर्षालाई मध्यनजर गर्दै उच्च सतर्कता, गृह मन्त्रालयको पूर्वतयारी बैठक सम्पन्न
काठमाडौं, साउन २ — आज र भोलि देशका विभिन्न जिल्लामा ठूलो वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ।
बैठकमा सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनालाई प्रभावकारी रूपमा सामना गर्न आवश्यक पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लामा भइरहेको तयारी, उपलब्ध साधन–स्रोत, जनशक्ति तथा समग्र अवस्थाबारे जानकारी गराएका थिए।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले जल तथा मौसम विज्ञान विभागले ‘रेड अलर्ट’ जारी गरेका जिल्लाहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। उनले आवश्यक परे तत्काल प्राधिकरणसँग समन्वय गरी थप सहयोग लिन आग्रह गर्दै उद्धार र प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न अनुरोध गरेका छन्।
गृह मन्त्रालयले सर्वसाधारणलाई पनि मौसमको अद्यावधिक जानकारी पछ्याउन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरेको छ।

