नुवाकोटको विदुरमा सामुदायिक एकता र स्वस्थ जीवनशैलीको सन्देश दिँदै ‘कोरा च्यालेन्ज–२०२६’ सम्पन्न



नुवाकोट, साउन २ — नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान ‘विदुर कोरा च्यालेन्ज–२०२६’ शुक्रबार नुवाकोटको विदुरमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

विदुर नगरपालिकाको आयोजनामा नगरपालिकाको कार्यालयबाट सुरु भएको अभियानमा नगरप्रमुख राजन श्रेष्ठ सहित ११० भन्दा बढी साइकलयात्रीको सहभागिता रहेको थियो। सहभागीहरूले निर्धारित विभिन्न रुट पूरा गर्दै पुनः विदुर नगरपालिकाको कार्यालयमै पुगेर साइकल यात्रा सम्पन्न गरेका थिए।

अभियानमार्फत शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा दिगो यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

समापन समारोहमा नगरप्रमुख श्रेष्ठले सहभागीहरूलाई पदक वितरण गर्दै यस्ता अभियानले समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै वातावरण संरक्षण र सामाजिक एकतालाई समेत बल पुर्‍याउने बताए।

कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्षहरू तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियान सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्