घरायसी विवादको दुःखद अन्त्य: श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
संखुवासभा, साउन २ – संखुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा आफ्नै घरमा रहेको धारिलो हतियार खुकुरी प्रयोग गरी घटना भएको हो।घटनामा प्रयोग गरिएको खुकुरी प्रहरीले बरामद गरेको छ। आरोपी अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

