भारी वर्षाको चेतावनी : कोशी ब्यारेजका ढोका खोल्न तयारी, २१ जिल्लामा बाढीको मध्यम जोखिम
काठमाडौं,साउन ३— जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने चेतावनी दिएको छ। जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव उल्लेख्य बढेर बाढीको जोखिम उत्पन्न भएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिनेछ। जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले देशभरका नदीहरूको जलप्रवाहको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै हाल २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बताउनुभयो।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी अघि बढाएको छ। साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न, यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरेको छ।

