मनसुनको जोखिम बढ्दै : आवश्यक परे निजी क्षेत्रबाट हेलिकप्टर, ड्रोन र र्याफ्टिङ परिचालन गरिने
काठमाडौं,साउन ३ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीलाई थप प्रभावकारी बनाउन आवश्यक परे निजी क्षेत्रबाट हेलिकप्टर, ड्रोन र र्याफ्टिङ सेवा परिचालन गर्ने तयारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गर्दै २१ जिल्लामा बाढी, पहिरो र डुबानको मध्यम जोखिम औँल्याएपछि प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा प्रतिकार्यको तयारी सुदृढ बनाएको हो।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौं, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चार वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। आवश्यकता परे यसअघि भएको समझदारीअनुसार निजी क्षेत्रसँग हेलिकप्टर, ड्रोन र र्याफ्टिङ सेवा उपलब्ध गराउन आग्रह गरिने उहाँले बताउनुभयो।गत साता प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)सँग विपद् व्यवस्थापनमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो।
समझदारीअनुसार काठमाडौं उपत्यकाभित्र हेलिकप्टर उडान निःशुल्क उपलब्ध गराइनेछ भने उपत्यकाबाहिर न्यूनतम सञ्चालन खर्चमा सेवा प्रदान गरिनेछ। त्यसैगरी, नेपाल ड्रोन सङ्घले विपद्का बेला पाइलटसहित ड्रोन र आवश्यक उपकरण निःशुल्क उपलब्ध गराउनेछ भने सम्बन्धित जनशक्तिको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ।
यस्तै, नारासँग भएको सहमतिअनुसार बाढी, डुबान तथा नदीजन्य विपद्मा खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि आवश्यक परे र्याफ्ट तथा जनशक्ति निःशुल्क उपलब्ध गराइनेछ।
प्राधिकरणका अनुसार यी समझदारी एक वर्षसम्म कायम रहनेछन् र आपसी सहमतिमा आवश्यकतानुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

