अविरल वर्षाले देशभर राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित प्रमुख सडक अवरुद्ध
काठमाडौं,साउन ३ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग प्रभावित भएका छन्। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
यस्तै, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहित ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षाका कारण सडकको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

