देशका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी किनारमा सतर्क रहन आग्रह
काठमाडौं, साउन ३ — जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै नदी किनार र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना छ।
यद्यपि विभागले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको जलस्तर भने हाल जोखिम रेखाभन्दा तल रहेको जनाएको छ।
विभागले निरन्तर वर्षाका कारण स्थानीय खोलानाला र साना नदीमा अचानक बाढी आउन सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

