संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न एमाले सांसदलाई प्रशिक्षण
काठमाडौं,साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन पार्टीका सांसदलाई संसदीय प्रशिक्षण दिएको छ।
पार्टीको संसदीय विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास, विधि–प्रक्रिया तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा प्रशिक्षण लिएका हुन्।
पार्टीका सचिव तथा संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार प्रशिक्षणमार्फत सांसदको संसदीय क्षमता अभिवृद्धि गर्दै संसद्भित्र प्रभावकारी उपस्थितिका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखिएको छ।
प्रशिक्षण कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम, अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्रका साथै समितिमा प्राथमिकताका साथ उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

