औद्योगिक क्षेत्रबाट ४६ करोडभन्दा बढी महसुल संकलन, बक्यौता नतिर्ने १० उद्योगको विद्युत् लाइन काटियो
काठमाडौं,साउन ३ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत असार मसान्तसम्म राज्यकोषमा रु ४६ करोड ८६ लाख महसुल दाखिला गरेका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशका विभिन्न १० औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगबाट उक्त रकम संकलन भएको हो। हाल देशभरका औद्योगिक क्षेत्रमा ३०० भन्दा बढी उद्योग सञ्चालनमा छन् भने उनीहरूको रु ८८ करोड बक्यौता रहेको जनाएको छ।
बक्यौता असुलीलाई प्रभावकारी बनाउन लिमिटेडले महसुल नतिर्ने १० उद्योगको विद्युत् लाइन काटेको छ। सोडारीका अनुसार सबैभन्दा बढी बक्यौता कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगको रहेको छ, जसले मात्रै करिब रु चार करोड तिर्न बाँकी छ।
लिमिटेडले बाँकी बक्यौता रकमसमेत शीघ्र असुली गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।

