पाँचदिने श्रीलंका भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फर्किए
काठमाडौं, साउन ३ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
प्रचण्ड गत असार ३१ गते श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।
उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक अवधारणाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।
समापन सत्रमा उनले एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।भ्रमणका क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई विशेष अन्तर्वार्ता पनि दिएका थिए।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग भएको छलफलमा नेपाल–श्रीलंकाबीचको कम्युनिष्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको भेटमा दुई देशको राजनीतिक अवस्था, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास र जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको बताइएको छ।

