अविरल वर्षाले उपत्यका जलमग्न, सडकमा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह
काठमाडौँ, साउन ३ — लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ।सडकमा पानी जमेकाले दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार ट्राफिक व्यवस्थापन सामान्य रहे पनि पानी जमेका सडकका कारण सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले दुर्घटनाको सम्भावना बढाएको उहाँले बताउनुभयो।
उहाँका अनुसार सार्वजनिक बिदा परेकाले आज ट्राफिक व्यवस्थापन केही सहज भए पनि वर्षाका कारण सडक जलमग्न हुँदा चालकले थप सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। आज साँझ माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडकमा पानी जमेको जानकारी दिँदै सुवेदीले दीर्घकालीन समाधानका लागि प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो।
ट्राफिक प्रहरीले वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।

