अतिरिक्त समयमा फेरान टोरेस चम्किए, स्पेन दोस्रो पटक विश्वविजेता



न्युयोर्क,साउन ४–न्यु जर्सी रंगशालामा आइतबार राति सम्पन्न फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जितेको छ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई विश्वविजेता बनाए। पेड्रो पोरोको क्रसमा निको विलियम्सले हेडमार्फत बल मिलाइदिएपछि टोरेसले पहिलो स्पर्शमै शक्तिशाली प्रहार गर्दै जाली चुमाएका थिए।

स्पेनले खेलभरि बलमा नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। उनले निर्धारित समय र अतिरिक्त समयको सुरुआतसम्म दर्जनभन्दा बढी महत्वपूर्ण बचाउ गरेका थिए। तर टोरेसको निर्णायक प्रहार रोक्न भने उनी असफल भए।

युरोपियन च्याम्पियन स्पेनले सुरुदेखि नै दबाब बनाएको थियो। लामिन यामाल, दानी ओल्मो, मिकेल ओयार्जाबाल, मार्क कुकुरेया, पाउ कुबार्सी, पेड्री र निको विलियम्सले पटक–पटक अवसर सिर्जना गरे पनि मार्टिनेज बाधक बने।

अर्कोतर्फ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना स्पेनको कडा नियन्त्रणका कारण प्रभावशाली आक्रमण गर्नै सकेन। टोलीले निर्धारित ९० मिनेटभरि लक्ष्यतर्फ एक पनि प्रहार गर्न सकेन। खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।

खेलका क्रममा अर्जेन्टिनाले चोटका कारण दुई मुख्य सेन्टर–ब्याक गुमाएको थियो। लिसान्द्रो मार्टिनेज पहिलो हाफअघि नै बाहिरिए भने दोस्रो हाफमा क्रिस्टियन रोमेरो पनि मैदान छाड्न बाध्य भए।अतिरिक्त समयमा पनि स्पेनको दबाब कायम रह्यो। निको विलियम्स र फेरान टोरेसका गोल अफसाइडका कारण मान्यता नपाए पनि अन्ततः १०६औँ मिनेटमा आएको टोरेसको गोल नै उपाधि जिताउने गोल बन्यो।

यससँगै सन् २०१० पछि पहिलो पटक र समग्रमा दोस्रो पटक स्पेन विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भएको छ भने साविक विजेता अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना अधुरै रह्यो।

प्रतिक्रिया दिनुहोस्