टोरेसको ऐतिहासिक गोलमा स्पेन दोस्रो पटक विश्वविजेता, पुरस्कारमा ५१ मिलियन डलर



काठमाडौँ, साउन ४ — फेरान टोरेसले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोल नै स्पेनका लागि इतिहास रच्ने गोल बन्यो।अतिरिक्त समयको १०६औँ मिनेटमा उनले गरेको निर्णायक गोलसँगै स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेसले निको विलियम्सको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै विजयी गोल गरे।

स्पेनले खेलभरि पूर्ण नियन्त्रण राख्दै अर्जेन्टिनामाथि निरन्तर दबाब बनाएको थियो। स्पेनले २० वटा लक्षित प्रहार गर्दा अर्जेन्टिनाले भने अतिरिक्त समयसम्म लक्ष्यतर्फ प्रभावकारी प्रहार गर्न सकेन।अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले १२ उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए।

अर्जेन्टिनालाई खेलको इन्जुरी समयमा ठूलो धक्का लागेको थियो।एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे र टोली १० खेलाडीमा सीमित भयो। त्यसपछि स्पेनले थप दबाब सिर्जना गर्दै अन्ततः १०६औँ मिनेटमा निर्णायक गोल निकाल्यो।

सन् २०१० पछि दोस्रो पटक विश्वविजेता बनेको स्पेनले यस विश्वकपमा आठ खेल खेल्दा जम्मा एक गोल मात्र बेहोरेको कीर्तिमान पनि बनाएको छ। प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा स्पेनले यसअघि युइएफए नेसन्स लिग र युरोपेली च्याम्पियनसिप जितिसकेको थियो भने अब विश्वकप पनि आफ्नो नाममा लेखाएको छ।

हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने र चौथो उपाधि उचाल्ने सपना अधुरै रह्यो। कप्तान लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि उपाधिविहीन बनेको छ। विश्वकप उपाधिसँगै स्पेनले ५१ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलर पाएको छ। तेस्रो भएको इङ्ग्ल्यान्डले ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलर प्राप्त गरेका छन्।

विश्वकपका व्यक्तिगत पुरस्कारतर्फ स्पेनका पाउ कुबार्सी सर्वश्रेष्ठ युवा खेलाडी घोषित भए। स्पेनकै उनाइ सिमोनले गोल्डेन ग्लोभ्स जित्दा कप्तान रोड्रीले प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडीको गोल्डेन बल अवार्ड हात पारे। फ्रान्सका किलियन एम्बापे १० गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट विजेता बने।

प्रतिक्रिया दिनुहोस्