साउने सोमबारमा पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडौँ, साउन ४ — साउन महिनाको पहिलो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ। साउने झरीको पर्वाह नगरी भक्तजनहरू बिहानैदेखि शिव मन्दिर पुगेर पूजा, आराधना र दर्शनमा सहभागी भएका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खोलिएका छन्। साउनको पहिलो सोमबार भएकाले बिहानैदेखि भक्तजनको आगमन तीव्र रहे पनि दर्शन व्यवस्थापनलाई सहज र व्यवस्थित बनाइएको उहाँले बताउनुभयो।

कोषले दर्शनार्थीका लागि सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा विशेष पूजाको व्यवस्था मिलाएको जनाएको छ। विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ भने मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्।

दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी र कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घसंस्थालाई परिचालन गरिएको छ। भक्तजनका लागि प्राथमिक उपचारसहित आवश्यक सेवा सुविधाको पनि व्यवस्था गरिएको कोषले जनाएको छ।

सदस्य सचिव श्रेष्ठले कोषमा जनशक्ति अभाव र पदाधिकारी नियुक्तिमा भएको ढिलाइका कारण केही काम अपेक्षाअनुसार गर्न चुनौती रहेको स्वीकार गर्दै उपलब्ध स्रोत–साधनबाट दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाइएको बताउनुभयो।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका प्रमुख शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको छ। त्यसैगरी देशभरका शिवालयमा साउने सोमबारका अवसरमा हजारौँ श्रद्धालु पूजा, आराधना र दर्शनका लागि पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्